काठमाडौं । नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गरेका छन् ।
सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध मुद्दा चल्ने सामाजिक सञ्जालमा स्टाटस लेख्दै बाँस्कोटाले दाबी गरेका छन् ।
नेता बाँस्कोटाले कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्का जस्तै भएको उल्लेख गरेका छन् ।
‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँचवर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्काजस्तै छ भनिन्छ। ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई’, रवि लक्षित टिप्पणी गर्दै उनले भनेका छन् ।
संसदीय विशेष समितिले रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । तर लामिछानेसहित रास्वपाका नेताहरुले भने समितिले आफुलाई क्लिन चिट दिएको भन्दै आएका छन् ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि भएको उपनिर्वाचनमा पनि जित हासिल गरेका थिए ।