काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष देखिएपछि अब गोरखा मिडियातिर तान्ने प्रयास हुने आशंका व्यक्त गरेका छन् ।
मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् । समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको उनले बताए ।
उनले भने, ‘सहकारीको पैसा अपचलनमा रवि लामिछानेको संलग्नता नदेखिएपछि गोर्खा मिडियाका लागि जिम्मेवारी लिनुपर्छ भनिएको छ । यो स्वीकार्न के गाह्रो । तर, यति पनि स्वीकार गरिएन । देशलाई भ्रममा पार्ने काम भएको छ ।’
उनले आफू सहकारी ठग नभएको संसदीय छानविन विशेष समितिले प्रमाणित गरेको तर्क गरे । यद्यपि समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ ।
‘प्रतिवेदनले स्पष्ट भन्यो कि त्यो किसिमको क्रियाकलापमा रवि लामिछानेको संलग्नता छैन । तर, भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग भनेको कुरासँग सरोकार छैन । यति कुरा स्वीकार गर्न किन गाह्रो भएको हो ? ‘उनले प्रश्न गरे ।
कार्यक्रममा उनले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने बताए ।
‘नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो ?’ भन्दै प्रश्न समेत गरे । उनले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे ।
सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरु ननाङ्गिन आग्रह गरे। उनले रास्वपा नसकिएको भन्दै अरुलाई रास्वपाले सक्काउने चेतावनी समेत दिए ।