बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

वृद्धभत्ता खान आफ्नै श्रीमतीको उमेर बढाउने वडाध्यक्ष दोषी ठहर

मंगलबार, असोज १ २०८१

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

नागरिकता लगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई दोषी ठहर गरेको हो ।

आफ्नै श्रीमती भक्तकुमारी लुईटेलको नागरिकता बनाउन सरकारी कागजात किर्ते गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
श्रीमतीको उमेर बढाएर सामाजिक सुरक्षा भत्ता अपचलन गरेको अभियोग लुईटेलमाथि थियो ।

विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

लुईटेललाई गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएको छ । यस्तै, सार्वजनिक सम्पतिको हानीनोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको विषेश अदालतले जनाएको छ ।

वडाध्यक्ष लुइँटेलले दोस्रो कार्यकालको लागि पनि निर्वाचित भएका थिए । उनले पहिलो कार्यकालमा नक्कली कागजात राखेर सिफारिस गरेका थिए । २०७५ सालको पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण किर्तेगरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको छ ।
उनले आफ्नै श्रीमतीलाई सामाजिक सुरक्षा भत्ता खुवाउन उमेर नै बढाएका थिए ।