बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मेटमणिको अभिव्यक्तिमा झलनाथको आक्रोश : यो भारतीय नागरिक बोल्दैछ की नेपाली सांसद ?

मंगलबार, असोज १ २०८१

काठमाडौं । नेकपा एसका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीको पछिल्लो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला सम्मानित नेता झलनाथ खनालले आक्रोश पोखेका छन् ।

कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी भएको भन्दै सम्माननित नेता खनालले चौधरीलाई कारबाहीको माग गरेका छन् ।

उनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै चौधरीविरुद्ध कारबाहीको माग गरेका हुन् । चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत व्यक्त गरेका छन् ।

यस विषयमा आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमासमेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको बताउँदै उनले तत्काल कारबाही गर्नुपर्ने धारण व्यक्त गरेका छन् । ‘अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु’, खनालले विज्ञप्तिमार्फत माग गरेका छन् ।

‘यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दैछ कि नेपाली नागरिक ? यो त स्वरै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देश द्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो । हाम्रो पार्टी जस्तो एउटा देशभक्त समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो ।’ नेता खनालले भनेका छन्, ‘यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र सुभेच्छुकहरुवाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ । आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न । अझ हामै पार्टीको “उपमहासचिव ” र वहालवाला “सांसद” बाट यस्ता अभिव्यक्ति आउनु गंभीर भन्दा गंभीर अक्षम्य आपत्तिको विषय बनेको छ ।’