काठमाडौं । संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठक जारी छ । सभामुख घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलका लागि बोलाएका छन् ।
केहीबेर अघि सिंहदरबारमा सुरुभएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्दैछन् ।
सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए । स
सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्योल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गरेका थिए ।
माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् ।
प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।