काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ ।
सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो ।
यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।
बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित पुरस्कार रकम खातामा गइसकेको जानकारी दिएका हुन् ।
यस अघि क्याबिनेट बैठकले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशालाई कर नकटाइ ६५ लाख राशीको पुरस्कार दिने निर्णय गरको थियो ।
पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।
ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।