काठमाडौं । भ्रष्टाचार विरोधी अभियान र सुशासनको दुहाइ दिँदै आएका नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ यति बेला सहकारी रकम अपचलनमा मुछिएका छन् । तर, सहकारी ठगीमा उनको प्रत्यक्ष संलग्नता देखिएको भने छैन । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा चिनाउन खोज्ने धनराज र उनकी श्रीमती ज्योति गुरुङले सहकारीको झण्डै १५ करोड बचत अपचलन गरेको भन्दै जाहेरी परेको छ ।
जाहेर परेपछि उनको विषय छताछुल्ल भएको हो । तर यीनैले संसदमा उभिएर आफुलाई मण्डेलासँग दाँजेका छन्।गुरुङले प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सहकारी अपचलनका बिषयमा आफूमाथि लागेको आरोपमा संसदीय छानबिन समिति आवश्यक देखिए बनाउन तयार रहेको बताए।
गुरुङले मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यस्तो भनाई राखेका थिए । उनले सम्बन्धविच्छेद भइसकेकी श्रीमतीसँग जोडेर सहकारी विवादमा आरोप लगाइएको बिषयमा संसदमा प्रतिबाद गरे। त्यतिमात्र होइन एक टेलिभिजन अन्तर्वार्तामा उनी धुरुधुरु रोएका पनि छन् ।
यता ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले धनराज दाम्पतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको र ठगीपछि ज्योति फरार रहेको दाबी गरेका छन् ।
यसरी ठगीएको पैसा ज्योतिले सिंगापुर र थाईल्याण्ड पठाएको र बिटक्वाइन र क्रिप्टोमा लगानी गरेको आशंका छ । तत्कालीन रुमपा एकाघरमा भएको व्यक्ति त्यो पनि निजकै श्रीमती जोडिएको केसमा उनी चोखो हुने अनुमान गर्नु कति उचित होला । हुन त उनले यतिबेला श्रीमतीसँग छोडपत्र गरिसकेको बताउँदै आएका छन् । तर उनको छोेडपत्रलाई लिएर विभिन्न टिकाटिप्पणी समेत भइरहेका छन् ।
ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले गत साता सहकारी वचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिमा गएर बयान दिएका छन् ।
ललितपुरस्थित मितेरी सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ र उनका पति धनराजले करिब १५ करोड रूपैयाँ अपचलन गरेको उजुरी परेपछि संसदीय छानबिन समितिले संस्थाका अध्यक्ष कुम्भराजलाई बोलाएको थियो ।
कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिन्छ । ज्योति अहिले फरार छिन् भने धनराज सुशासनको पक्षमा अग्रपंक्तिमा उभिएर वकालत गर्ने सांसद हुन् ।
त्यतिमात्र होइन धनराज गुरुङ यस अघि रातो पासपोर्ट काण्डमा समेत बद्नाम भएका पात्र हुन् ।
विस २०५७ सालमा केही सभासदको कुटनीतिक राहदानीमा अन्य व्यक्तिको फोटो टाँसेर मानव तस्करी गराएको आरोपमा धनराज गुरुङ पनि मुछिएका थिए । त्यो बेला नेपाली काँग्रेसकै सांसदहरुले रातो पासपोर्ट बेचेको प्रतिवेदन गृहमन्त्रालयले तयार पारेको थियो ।
२०६८ मा अदालतमा मुद्दा पुगेपछि पूर्वसांसदहरु शिवपुजन राय, विश्वनाथ प्रसाद यादव र गायत्री साह दोषी ठहर भए । अन्यले विशेष अदालतबाट छुट पाएपछि अख्तियार २०७३ मा फेरि सर्वोच्च गएको छ । तर धनराज गुरुङले आफुले सफाई पाएको दाबी गर्दै आएका छन् ।
गृहमन्त्री भएका बेला रवि लामिछानेले यही कुरा संसदमा बोलेपछि धनराजले अपहेलनामा कारबाही गर्न भन्दै सभामुखलाई पत्र पठाएका थिए ।
यसअघि रातो पासपोर्ट तस्करी धन्दामा संलग्न रहेको पुष्टि भएपछि कांग्रेसले धनराजलाई कारवाही गरेको थियो ।
यता आफू मन्त्री भएकै बेला धनराजले अर्को काण्ड पनि मच्चाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई जेल पठाउने साहसी न्यायाधिशलाई सरुवा गरि रुकुम पठाईदिएका थिए । न्याय मन्त्री भएका बेला जघन्य अपराधीलाई माफी दिने कानून मस्यौदादेखि प्राध्यापकको ज्यान मार्न खोज्नेलाई सजाय माफी र न्यायाधीश नियुक्तिमा आर्थिक चलखेलका कारण उनी विवादित बनेका थिए ।