काठमाडौं । प्रधानमन्त्रीको कुर्सीबाट ओर्लिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेचैन छन्। पार्टीका आन्तरिक बैठक, सार्वजनिक कार्यक्रमलगायतमा उनको भनाई हुने गरेको छ– बिचौलियाले सरकार गिराए। जब भ्रष्टाचारी पक्राउ गर्न थालियो, मेरो नेतृत्वको सरकार ढालियो।
त्यसो त सत्तामा रहनका लागि प्रचण्डले सामान्य प्रयोग मात्र गरेनन्, असामान्य हिसाबमा गठबन्धन हेरफेर गरिरहेका थिए। प्रायः नौ महिना मात्र सत्ता चलाएका प्रचण्डले हेरफेर गरी यस पटक १८ महिना सरकारको नेतृत्वको मौका पाए।
तर, उनको पोलिटिक्सलाई खाइदियो, ओलीटिक्सले। ओलीटिक्स अर्थात् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक चालले प्रचण्डलाई बर्बराउन बाध्य पारेको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जत्तिको खप्पिस राजनीतिज्ञले ओलीलाई प्रधानमन्त्रीमा दुई बर्ष स्वीकार गर्दै नयाँ गठबन्धन बन्नुलाई असामान्य हिसाबले हेरिएको छ।
‘भारत कुनै पनि हालतमा ओली नेतृत्वको सरकार स्वीकार्ने पक्षमा छैन। उसले देखावटी रुपमा बधाई दिए पनि आन्तरिक रुपमा ओली नेतृत्वको सरकारले भारतविरोधी राष्ट्रवाद मात्र स्थापित गर्ने उसको नोटिसमा छ’, उच्च स्रोतले भन्यो,‘यस्तो जटिलतामा पनि सत्ता हात पार्न सक्नु भनेको पोलिटिक्स भित्र ओलीटिक्सको असर नै मान्नुपर्छ।’
ओलीले प्रचण्डको सत्ता मात्र गुमाइदिएका छैनन्। विस्तारै जनतामा छरिन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि विवादमा तानिदिएका छन्। खासगरी दुई पटक सत्तामा र त्यसमा पनि गृह जस्तो मन्त्रालय दिएर रास्वपाको हुर्मत लिने काममा ओलीको भूमिका प्रभावकारी रहेको मानिन्छ।
‘सत्तामा गएपछि नयाँ शक्ति कसरी खरानी हुन्छन् भन्ने माओवादी एउटा उदाहरण थियो। ओलीले रास्वपालाई अर्को उदाहरण बनाएर छाडेका छन्’, स्रोतले भन्यो,‘दोस्रो पटक राप्रपा नगएर बच्यो, नत्र पहिलो पटक ओलीको गठबन्धनमा जाँदा उसको पनि अलोकप्रियता बढेको थियो।’
नेपालको राजनीतिमा अडान, हुर्मत र चेतावनी दिन गिरिजाप्रसाद कोइरालापछिका नेताका रुपमा ओली दरिन थालेका छन्। ‘पार्टी विभाजन हुँदा पनि हिम्मत नहारेका र कांग्रेसलाई आश्वस्त पार्नका लागि चुनावमा बाम गठबन्धन नै नगर्नेसम्मको निर्णय गरेका ओलीलाई कमजोर आँक्नु हुन्न। आधुनिक राजनीतिमा उनको सिक्का नै बलियो रहेको देखियो।’
अहिलेसम्म सदनमा सबै प्रकारका गठबन्धन बनिसकेको र कांग्रेस–एमालेको अन्तिम गठबन्धन रहेका कारण सरकार भनेको समयसम्म जाने बताइन्छ। एमाले नेता खगराज अधिकारी भन्छन्,‘यो अन्तिम गठबन्धन हो, चुनावसम्म नै जानेछ। अब अरुले आश नदेखे हुन्छ।’