आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मिस्टर एण्ड मिस लियो २०२४ आयोजना हुँदै

बुधबार, भाद्र २६ २०८१

काठमाडौं । चर्चित कार्यक्रम “मिस्टर एण्ड मिस लियो २०२४” आउँदो अक्टोबर ५ मा हुने भएको छ । बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले मंगलबार सर्वनाम थिएटरमा पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएको हो । यो कार्यक्रम बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालद्वारा आयोजित हुनेछ, जसमा १५ वटा डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने छन।

संस्थाले दिएको जानकारी अनुसार यो प्रतियोगिता काठमाडौँको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुनेछ जसमा प्रत्येक डिस्ट्रिक्टबाट एक पुरुष र एक महिला गरी २ जना सहभागीहरु यस कार्यक्रममा प्रतिनिधित्व गर्नेछन । कार्यक्रमका समन्वयक इन्जिनियर मनीष अर्यालका अनुसार प्रतियोगितामा विजयी हुने पुरुष र महिला दुवैलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः २० हजार र १० हजार नगद पुरस्कार दिइनेछ । यस कार्यक्रममा भाग लिन इच्छुक व्यक्तिहरुले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

सम्मेलनमा बताइए अनुसार प्रतियोगिताको तयारी स्वरूप १५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । यस क्रममा नेतृत्व विकास, आत्म–संवर्द्धन, र्याम्प वाक, पोर्टफोलियो निर्माण लगायतका विभिन्न तालिमहरू दिइनेछ । प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५ पछि सर्वनाम थिएटरमा आयोजना हुनेछ । कार्यक्रमको उदेश्यप्रति प्रकाश पार्दै लियो डिस्ट्रिक्ट काउन्सिलका उपाध्यक्ष प्रवेश कुमार केसीले भने ‘कार्यक्रमको मुख्य उद्देश्य युवाहरुलाई आत्मविश्वास बृदि, सक्षम र सफल भविष्यका लागि तयार पार्नु हो ।’ कार्यक्रमको उद्घाटन लियो मल्टिपल डिस्ट्रिक्ट अध्यक्ष लियो अश्मिता लामिछानेले गरेकी थिइन जसमा प्रमुख अतिथि लायन पंकज जालान लगायत अन्य विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए।

१८ देखि ३१ वर्षका लियो सदस्यहरूले जसले कम्तिमा एक वर्ष लियोको सदस्यता लिएका छन्, उनिहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्ने बताइएको छ । यो प्रतियोगिताले युवाहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न उत्कृष्ट अवसर प्रदान गर्ने देखिन्छ ।