बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सहकारी रकम ठगीमा मुछिएपछि धनराजले भने : मलाई थाहा छैन, श्रीमतीसित अलग भइसकेँ

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । सुशासनको कुरा जोडतोडले राख्दै आएका नेपाली कांग्रेसका उपसभापतिरहेका पूर्वमन्त्री धनराज गुरुङ सहकारी रकम अपचलनमा मुछिएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन् । साे सहकारीकाे रकम हिनामिनाकाे समचार बाहिर आएपछि उपसभापति गुरुङले ज्योति गुरुङसँग सम्बन्धविच्छेद भइसकेकाे जनाएका छन् ।

श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले विभिन्न सञ्चार माध्यममा आफूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले आफ्नी पूर्वपत्नी ज्योति गुरुङ ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत रहेको विज्ञप्तिमा स्वीकारेका छन् । तर, उनी उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनका बारेमा आफूलाई जानकारी हुने विषय नभएको गुरुङको जिकिर छ । गुरुङले ज्योतिसँग आफ्नो २०७६ साल फागुन २९ गते नै जिल्ला अदालत ललितपुरबाट सम्बन्धविच्छेद भइसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्ने वारेमा जे जस्ता भ्रामक समाचारहरू सम्प्रेषित भएका छन् त्यसप्रति मेरो गम्भीर आपत्ति छ’, उनको भनाइ छ, ‘साथै निज ज्योतिजी सँग २०७६ साल फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकोले, ज्योति जीसँग उक्त मितिदेखि कुनै पनि किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँदछु ।’

उनले उक्त सहकारीका हजारौं बचतकर्ताको करोडौँ रकम अपचलन भएको भन्ने सुन्नमा आएको भन्दै त्यसबारेमा जो कसैले अपचलन वा ठगी गरेको भए सत्य तथ्य अनुसन्धानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।