बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सत्तारुढ दलहरुको बैठकः सरकार र संसदको कामलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बन्ने

मंगलबार, भाद्र २५ २०८१

सत्तारुढ दलहरुबीच सरकार र संसदको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सोमवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार संसदको कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।

उनले सरकारका समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? भन्नेबारेमा पनि छलफल भएको बताए । उनले न्युनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरुबाट निर्णय भइसकेकाले सरकार निर्माणताका भएको सात बुँदे सम्झौताअनुसार नै सरकारको न्युनतम साझा कार्यक्रम बन्ने बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रुपमा सरकारका न्युनतम साझा कार्यक्रम बनाउने जानकारी दिए। उनले सात बुँदे सहमतिलाई अझ विस्तृत गर्नेगरी सरकारको न्युनतम साझा कार्यक्रम आउने बताए ।

प्रमुख सचेतक घिमिरेले संविधान संशोधनमा बढी भन्दा बढी राजनीतिक दलहरुको सहमति जुटाएर संशोधन गर्ने पनि बताए।