काठमाडौं । सरकारमा पुगेपछि शक्ति आफूमा छ भन्ने दम्भमा कतिपय नेताले हैसियत बिर्सन्छन् भने कतिपय मन्त्रीका बोलीका टुंगो हुँदैनन्।
सरकारको रक्षा मन्त्री रहँदा बोलीमा लगाम लगाउन नसक्दा शरतसिंह भण्डारीले राजीनामा दिनु परेको थियो। उनले सेनाका विषयमा विवादीत विषय बोलेका थिए।
डा. बाबुराम भट्टराईको मन्त्रिपरिषदको श्रममन्त्री हुँदा सरिता गिरीले हावादारी बोल्दा राजीनामा दिनु परेको थियो। यस्ता घटना नेपालको राजनीतिक वृत्त र खासगरी सत्तामा पुनरावृत्ति भइरहेका छन्।
पछिल्लो पटक सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङ यस्तै विवादमा उभिए। उनले नेपाल प्रहरीका महानिरिक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने बताएका थिए।
यो विषय मिडिया, सडक, प्रहरीका पूर्वअधिकारी र सदनमा समेत प्रश्नको घेरामा परेको थियो। यति मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई बोलाएर जिब्रोमा लगाम लगाउनका लागि चेतावनी दिए। आइन्दा विवादीत अभिव्यक्ति दिए मन्त्री पद नै खाइदिने धम्की पाएपछि गुरुङ आफैंले यो विषयबारे गल्ती भएको एउटा कार्यक्रममा बताए।
तर उनले हालसम्म पनि माफी मागेका छैनन्। एमाले उपमहासचिव समेत रहेका गुरुङलाई ओलीले यस्तै कामका कारण त्यति मन पराउने गरेका छैनन्।
गण्डकी प्रदेशका गुरुङभन्दा पनि ओलीको विश्वासमा सचिव पद्मा अर्याल रहेकी छन्। यस्तो राजनीतिक समस्याकाबीच गुरुङको अभिव्यक्तिका कारण खगराज अधिकारीलगायतले पनि ओलीलाई सचेत गराएका थिए।
त्यसैको प्रभाव हुनुपर्छ– ओलीले पोलिटब्युरो बैठकमा इन्जोय गर्ने भए पार्टी छाड्न समेतका निर्देशन दिएका थिए।