सके निर्जला व्रत बस्नु
हिजो रातिको दर अडिलो नै हुन्छ।
भन्नेहरुले जेसुकै भनुन् !
पतिको गोडाको जल पनि पिउनू ।
नास्तिकहरुले भने झैं
सबै ढुङ्गाको पूजा गर भन्या हैन
प्रेमको हथौडाले ढुङ्गालाई मूर्ती बनाऊ
प्राण भर
अनि पूजा गर
चरण धोएर पानी खाऊ।
आफ्नै शक्ति र सामर्थ्यको पहिचान नपाएकाहरुले जति बुरुक बुरुक गरे नि
तिमीसँग पत्थर पगाल्ने शक्ति छ ।
राम बनाउने कि रावण ?
कृष्ण बनाउने कि कंश ?
यो सब तिम्रै हातमा छ
गोडा ढोग्ने भनेको भाव सम्प्रेषण विधि हो।
जव तिमी दुईको भाव एकाकार हुने छ
दुई ज्यान एक मन
शिवशक्ति स्वरुप
तिम्रा पति अर्धनारीश्र्वर हुनेछन्।
कसैका नजर लाग्लान्
होस् गर।
भाले नबासे पनि उज्यालो हुन्छ
बासे उही बास्छ तिमी नबास्नु
पोथीबासेको सुहाउँदैन।
सोह्र श्रृङ्गार गर
मोहनी स्वरुप धारण गर
व्रह्माण्ड वसमा पार्न सक्छ्यौ
जाबो पुरुष!
रणपुतलीहरुले जेसुकै भनुन्
पोईलाई लोग्ने, लोग्नेलाई श्रीमान
श्रीमानलाई पति ,पतिलाई स्वामी बनाऊ
उस्लाई आफुभित्र ,आफु उभित्र ।
तिमी गौरी,उ शंकर
गौरीशंकरको निवास
कैलाश
घरआगन शिवालय !!
नाच्नुस,गाउनुस,रमाउनुस्
आधुनिकताको नाममा
बाईफालेहरुको लहै लहैमा लागेर
ज्वाईंलाई धुन्धुकारी बनाउली नि !!
छोरी, प्रेम रोप,
प्रेम फलाऊ
तिमी मुस्कुराउँदा जगत मुस्कुराउने छ।
झ्यामपुतलीहरुका कुरा नसुन
तीजको व्रत गर
शाश्त्रोत्र विधि गर
सभ्यताको रक्षा गर
कैलाश बनाऊ, कैलाश बनाऊ।