काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति जुट्न नसकेपछि भदौ १२ गते बैठक बस्न सकेको थिएन ।
महामन्त्री थापाले प्रस्तुत गरेको निर्वाचनपूर्व गठबन्धन, पार्टीको आगामी १५औँ महाधिवेशनको कार्यतालिका र महामन्त्री शर्माले प्रस्तुत गरेको एक्जिट पोलिसीका विषयमा विवाद भएपछि भदौ १२ गते बैठक स्थगित गरिएको थियो ।
महामन्त्रीद्वयको प्रस्तावलाई सर्वसम्मत रूपमा केन्द्रीय समिति बैठकबाट पारित गर्न पार्टी सभापति देउवाले शीर्ष नेताहरूसँग पटक-पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन । महामन्त्रीद्वयको प्रस्तावप्रति संस्थापक पक्षका नेताहरूले चर्को विरोध गरिरहेका छन् ।
बैठक दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आजै सकिने नेताहरूले जनाएका छन् ।
शीर्ष तहमा टुंगिन बाँकी रहेका विषयमा सहमति खोज्न केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ ।
केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ ।