बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बिहिबार, भाद्र १३ २०८१

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैस्थितसडकमा जसपुरबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ह ४५१३ नम्बरको अटो अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा अटोमा सवार दंगिशरण गाउँपालिका–२ बस्ने ८५ वर्षीय जिवराज बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तेह्रथुमको लालिगुराँस नगरपालिका–१ लम्बु खोलास्थित सडकमा ईटहरीबाट तेह्रथुम म्याङलुङतर्फ जादै गरेको को.१ ख १६८१ नम्बरको ट्रकले किचेर सोही ट्रकका सहचालक सुनसरी इटहरी उपमहानगरपालिका बस्ने ४५ वर्षीय रमानन्द चौधरीको बुधबार राति मृत्यु भएको छ । ट्रकको ब्रेक फेल भई ओत लगाउने क्रममा ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा कलंकीबाट थानकोटतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले किचेर हाल नाम,थर,वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।