बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अवैद्य रुपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

बिहिबार, भाद्र १३ २०८१

काठमाडौं । अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट परिसरमा अलपत्र परेका छन् ।

अमेरिका लगिदिने मानव तस्करको प्रलोभनमा परेर उनीहरू ब्राजिलमा अलपत्र परेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ब्राजिलस्थित नेपाली दूतावासको पहलमा नेपाली नागरिकलाई सुरक्षित राख्न पहल भइरहेको जानकारी दिए।
अलपत्र परेका सबै नेपाली नागरिक सुरक्षित रहेको दूतावासले जानकारी दिएको उनले बताए ।

अलपत्र परेकालाई स्वदेश फिर्ता पठाउने वा के गर्ने भन्ने विषयमा ब्राजिल सरकारले औपचारिक रूपमा केही भनेको अवस्था छैन । फिर्ता गर्नुपर्ने अवस्था आएमा अवैद्य रूपमा लगेर अलपत्र पार्ने एजेन्टहरूलाई जिम्मेवार बनाएर उनीहरूमार्फत नेपाली नागरिक फिर्ता ल्याउन भन्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले जनाएको छ ।

नेपाली नागरिकसहित करिब सात सय जना अलपत्र परेको खबरप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै दूतावासले आफ्ना नागरिकलाई आवश्यक मानवीय सहायताका लागि पहल गरेको स्पष्ट पारेको छ । दक्षिण अमेरिकाको ब्राजिललगायतका मुलुक हुँदै अवैध तरिकाले संयुक्त राज्य अमेरिका प्रवेश गराउने उद्देश्यले विभिन्न स्थानबाट त्यहाँ मानिस जाने प्रवृत्ति बढेकाले यस्तो समस्या आएको पनि दूतावासले जनाएको छ । सङ्गठित रूपमा सक्रिय मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवा यस क्षेत्रमा आउने गरेको र ठुलो धनराशिको खर्चसहित अकल्पनीय पीडा बेहोर्नुपरेको दूतावासले जनाएको छ ।