आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एन आई सी एशिया क्यापिटलको ५२.५३ प्रतिशत नगद लाभांश पारित

बुधबार, भाद्र १२ २०८१

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा मंगलबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२ दशमलव ५३ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

उक्त सभामा संचालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले २० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड रुपैंयाँ भन्दा बढी आम्दानी गरी १२ करोड १६ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । त्यसैगरी व्यवसाय तर्फ आषाढ मसान्त, २०८१ सम्म सात लाख ३९ हजार आठ सय ६८ डिम्याट खाता खोल्न सफल भएको कम्पनीको भनाई छ । म्युचुअल फण्ड सेवा अन्तर्गत पाँच वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा छ वटा योजना मार्फत पाँच अर्व ५२ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गत ७०४ जना ग्राहकहरुबाट दुई अर्व ११ करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको कम्पनीको भनाई छ।

शेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आईडिया टु आईपिओ सेवा अन्र्तगत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत सभालाई जानकारी गराउनु भयो । साथै क्यापिटलले आठौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो शेयरधनीलाई हालसम्म २४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको जानकारी दिए।