काठमाडौं । एनआईसी एशिया बैंकले अन्तराष्ट्रियस्तरको बेष्ट इन डिजिटल अवार्ड प्राप्त गरेको छ । सेकेन्ड आइसीसी इमर्जिङ एशिया बैंकिङ अवार्ड्स अन्तर्गत एनआईसी एशियाले उक्त अवार्ड प्राप्त गरेको हो।
“डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको छ,’ बैंकले बिज्ञप्तीमार्फत जानकारी दिएको छ । इण्डियन चेम्बर अफ कमर्सको सेकेन्ड आइसीसी इमर्जिङ एशिया बैंकिङ अवार्ड्सअन्तर्गत गत अगस्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ’बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा एनआईसी एशिया बैंकले यो अवार्ड प्राप्त गरेको हो।
यो अवार्डका लागि विमस्टेक अन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरूले विभिन्न ८ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट एनआईसी एशियाले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यो अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो।