शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गरिमा विकास बैंकको उच्च व्यवसायीक सफलता

पायो अन्तराष्ट्रियस्तरको ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्ड

मंगलबार, भाद्र ११ २०८१

काठमाडौं । गरिमा विकास बैंकले अन्तराष्ट्रियष्स्तरको ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्ड हात पार्न सफल भएको छ । बैंकले भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अर्वाड कार्यक्रममा उक्त अवार्ड हात पारेको हो।

बैंकका अनुसार उक्त कार्यक्रममा बिम्स्टेक देशहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा फाईनान्स कम्पनीहरुको सहभागिता रहेको थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरूले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको बैंकले महशुस गरेको छ । कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको बैंकको भनाई छ।

सो अवसरमा आयोजित ’ड्राइभिङ इफिसियन्सीज एक्रस द भ्यालु चेन’ विषयक प्यानल डिस्कसन कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए । कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृष्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेको बैंकले जानकारी दिएको छ।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजीका उपाध्यक्ष तथा दक्षिण एसिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रूपमा सहभागी रहेका थिए । कार्यक्रममा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी रहेका थिए । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय २३ वटा शाखा कार्यालय, एउटा एक्टेन्सन काउन्टर र ५० वटा एटिएम काउन्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।