काठमाडौं । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ सँग पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले इन्कार बयान दिएका छन् ।
शुक्रबार समितिले सहकारी ठगीमा जोडिएका प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछानेसँग शुक्रबार घण्टौँ बयान लिएको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको थियो ।
बयान अवधिमा लामिछानेले समितिले सोधेका ५१ वटा प्रश्नको जवाफ सविस्तार दिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
उनले दिएको जवाफको जानकारीका लागि जस्ताको भविष्यमा प्रतिवेदनमा समेट्ने थापाको भनाइ छ । समितिका एक सदस्यका अनुसार लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै इन्कारी बयान दिएका छन् ।
थापाले सभापति लामिछानेले आफू प्रवन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको बताएको जानकारी दिए ।
यस्तै ठगीको सम्पूर्ण दोष उनले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईमाथि थोपरेका छन् ।
जीबी राईमाथि १६ अर्ब बचत अपचलनको आरोप छ । राईको साझेदारको रूपमा गोरखा मिडिया नेटवर्कमा जोडिएका लामिछानेले बयानका क्रममा भने आफूमाथि लागेका आरोपको सबै दोषारोपण जीबी राईमाथि थोपरेका हुन् ।
लामिछानेमाथिको बयान पूरा हुन राति १ बजेसम्म लागेको थियो । करिब ४ बजेदेखि लामिछानेसँग बयान लिन सुरु भएकोमा सबै प्रक्रिया सुरु गर्दा राति १ बजेको सभापति थापाले बताए ।
मध्यरातसम्मको बयानपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सहकारीको एक पैसा पनि आफूले नखाएको दाबी गरे।
सञ्चारकर्मीसँग लामिछानेले भने, ‘सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन, मैले ती नामका सहकारीबाट एक पैसा पनि लिएको थिइनँ । यो कुरा मैले आफ्नो ढंगबाट प्रस्ट पारेको छु।’
लामिछानेले आफू गोरखा मिडियामा रहँदा आर्थिक हिसाबको पाटो जीबी राईले नै सम्हालेकाले यसबारे आफू जिम्मेवार नरहने बताएको समितिका एक सदस्यले जानकारी दिए ।
शुक्रबारको बैठकमा समितिले गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशीसँग पनि बयान लिइएको थियो ।