बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नौ महिनापछि हट्यो टिकटकमाथिको प्रतिबन्ध

शुक्रबार, भाद्र ७ २०८१

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध नौ महिनापछि हटेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सद्भाव बिगारेको तथा अश्लीलता प्रदर्शन भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लागेको हो ।

नौ महिनापछि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध हटाउने निर्णय लिएको छ । सरकारले प्रतिबन्ध खुलाउँदै गर्दा टिकटकमाथि केही शर्त भने लगाएको छ ।

सरकारको निर्णयसँगै कतिपय इन्टरनेट सेवा प्रदायकले टिकटक सेवा दिन थालिसकेका छन् । यद्यपि सरकारले औपचारिक सहमतिपछि मात्रै टिकटकमाथिको प्रतिबन्ध खुला हुने बताएको थियो ।

कतिपय सर्वसाधारणले पनि टिकटक खुलेकोमा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।

टिकटकले स्वीकार गरेका नेपालका पाँच शर्त

१.सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना
२. टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने
३.डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने
४. सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने
५.सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने