बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

टिकटकको प्रतिबन्ध हटाइने, क्याबिनेटमा प्रस्ताव लैजाँदै सञ्चारमन्त्री

मंगलबार, भाद्र ४ २०८१

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।

तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो ।

लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार चार दिनअगाडि मात्रै इमेलमार्फत टिकटकको प्रतिवद्धता पत्र प्राप्त भएको थियो ।  टिकटकले नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकार लचिलो बनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक रहेको पाएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसकेको स्रोतको भनाइ छ ।

प्रतिबन्ध भने केही दिनमै फुकुवा हुने स्रोतले दाबी गर्‍यो ।