काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ ।
त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पु-याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए ।
बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन्। बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ । बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पु-याएको छ । प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो । त्यसक्षेत्रमा चौँरीपालन र होटल व्यवसाय हुँदै आएको छ ।
राष्ट्रियसभा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बस्ती भएको जानकारी दिए । उनले भने, “त्यो सगरमाथा आरोहण गर्ने बाटोभन्दा केही टाढाको दूरीमा छ । प्रभावित क्षेत्रको विद्युत् गृहमा क्षति पुगेकाले अहिले बिजुली नहुँदा दूरसञ्चार सेवा प्रवाहमा असर परेको छ ।”
सोलुखुम्बुका सिडिओलाई प्रधानमन्त्रीको फोन
प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राख्दै शुक्रबार बेलुका त्यहाँका सिडओलाई फोन सम्वाद गरेका थिए ।
उनले प्रमुख जिल्ला अधिकारी (सिडिओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका थिए ।
बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको जानकारी गराएकी थिइन् । फोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिन र भएको धनमालको क्षति बारे सरकारले केही गर्ने आश्वासन दिएका थिए । पीडितलाई तत्काल खाद्यान्न, लत्ताकपडा र औशधीको जोहो गर्न उनले सुझाएाक थिए ।