काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनले ५३ सदस्य रहेको प्रदेशसभाबाट दुई–तिहाइ सांसदको विश्वास जितेका हुन् ।
शाहले बुधवार आफ्नै दल नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सात गरी ३६ सांसदको मत पाएका छन् । यो कूल संख्याको दुई–तिहाइ बहुमत हो ।
शाहको विपक्षमा आठ मत मात्रै खसेको थियो भने एकजना तटस्थ बसेका थिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिममा उनी साउन २० गते मुख्यमन्त्री भएका थिए ।
प्रदेशसभामा कांग्रेसका १८, एमालेका उपसभामुखसहित ११, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र एक–एक सदस्य छन् ।
कांग्रेस, एमाले र नाउपाले आफ्ना सांसदहरूलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए । शाहले सुदूरपश्चिममा दोस्रोपटक दुई–तिहाइ बराबर विश्वासको मत पाएका हुन् ।
प्रदेशसभाको अर्को बैठक शुक्रवार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।