काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद्मा छलफलका लागि प्रस्तुत विधेयकमाथि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । नेताहरूले सम्बोधन गरिसकेपछि आज नै उक्त विधेयक पारित गर्ने तयारी छ ।
यसअघि दलहरूबीचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुने चरणमा पुगेको छ ।
प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो । विधेयकमा सहमति गर्न कांग्रेस, एमाले र माओवादी सम्मिलित कार्यदल गठन गरिएको थियो ।