बारा । बारामा विषाक्त खानेकुरा खाएर विरामी परेका एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानीटोलका नरेश रामका तीन जना छोराछोरीको विषाक्त खानेकुरा खाएर मृत्यु भएको डाक्टरको प्रारम्भिक अनुमान छ ।
शनिबार बेलुकी माछा र भात खाएर सुतेका नरेशका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन राम बिरामी परेका थिए।
उपचारका क्रममा सोमबार तीनै जनाको मृत्यु भएको थियो ।
शनिबार बेलुकी गाउँकै पोखरीमा माछा मारेर स्थानीय व्यापारीले गाउँलेलाई बेचेका थिए। गाउँको पश्चिमतर्फ रहेको पोखरीबाट व्यापारीले मारेर ल्याएका उक्त माछा ४०/५० घरपरिवारले किनेका थिए। तीमध्ये माछा र भात खाएर सुतेका नरेशका तीनजना छोराछोरीलाई राति नै पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेको परिवारजनले बताएका छन् ।
सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुरूलाई त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।
कलैयाबाट चिकित्सकले थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज अस्पतालमा रिफर गरेका थिए।
तीनै जनालाई कलैयाबाट वीरगञ्ज लगिएको थियो । तीन मध्ये एक जनाको बाटोमै मृत्यु भएको थियो भने दुई जना बालकको उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीनै जनाको शव सोमबार कलैया अस्पतालमा पोस्टमर्टम गरी सदगद् गरिएको छ ।
माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको आशंका गरिए पनि त्यही माछा–भात खाएका मृतकका आमा, बाजे, बज्यै र अन्य गाउँलेलाई केही भएको थिएन ।