काठमाडौं । दक्षिण एसीयाभित्रको तरल राजनीतिक अवस्थामा विश्वका महाशक्तिको ध्यान पुगेका बेला भारत त्यहि घेराबन्दीमा पर्न सक्ने संकटको मन्थनमा छ। अझ अहिले बंगलादेशमा त्यहाँका राष्ट्रपित नै मानिनेका शालिक ढालिएको र ८ प्रतिशतमा रहेका हिन्दूमाथिको चरम शोषण र आतंकलाई भारतीय पक्षले गहिरोसँग नियाँलिरहेको छ।
त्यहाँकी प्रधानमन्त्री शेख हसिना कुर्सी मात्र छाड्न बाध्य भइनन्, देशबाट भागेर भारतको शरणमा छिन्। उनलाई पश्चिमा मुलुक युके र अमेरिकाले भिसा पनि दिएको छैन। यस्तो अवस्थामा भारतले आफ्नो सीमा क्षेत्रमा सुरक्षालाई बलियो बनाउने मात्र होइन, बंगलादेशमाथि हस्तक्षेपको रणनीति पनि बनाइरहेको छ।
सबैभन्दा धेरै नाकासित सीमा जोडिएको तथा भित्री रुपमा भारतले दखलअन्दाजी राख्ने बंगलादेशको आन्तरिक राजनीतिमा भइरहेको उतारचढावबीच विदेश सचिव विक्रम मिस्री काठमाडौंमा उत्रिएका छन्।
उता विदेशमन्त्री एस जयशंकर भने माल्दिभ्सबाट आइतबारै भारत फर्किएका छन्। मिस्रीको नेपाल भ्रमण औपचारिक र समकक्षी सेवा लम्सालको निम्तोको निरन्तरता बताईए पनि यसको कुटनीतिक र राजनीतिक अर्थ रहेको बताइन्छ।
अहिले बंगलादेशमा भइरहेको राजनीतिक घटनाक्रम र त्यहाँको हिन्दूबिरोधी आन्दोलन र सरकारका सन्दर्भमा भारतले चाल्न सक्ने कदमको राय बटुल्नका लागि मिस्रीको भूमिका अर्थपूर्ण हुनेछ।
खासगरी उनले समकक्षी लम्सालसँगको औपचारिक भेटपछि उच्च स्तरीय राजनीतिक वार्तालाप पनि गर्नेछन्। यहि विषयको सहमति वा राय बुझ्नका लागि एस जयशंकर माल्दिभ्स पुगेका थिए।
बंगलादेशबाट भागेकी शेख हसिना अहिले भारतमा आश्रय लिइरहेकी छन्। उनी भारतको पक्षधर रहेको बताइन्छ। भारतले नेपाललगायतका आफ्ना छिमेकी मुलुकको रायका आधारमा बंगलादेशमा हस्तक्षेप गर्न सक्ने आँकलन समेत गरिएको छ।
‘पाकिस्तानबाट अलग बनाएर बंगलादेशको स्थापनामा भारतको भूमिका बलियो थियो। अहिले भएको राजनीतिक घटनाक्रम र त्यहाँको स्थितिमा कसरी हस्तक्षेप गर्न सकिन्छ भन्ने विषयमा भारत सरकारले आन्तरिक र बाह्य छलफल तिव्र बनाएको स्थिति छ’, एक कुटनीतिक विश्लेषक भन्छन्,‘यहि राय लिनका लागि मिस्रीको नेपाल र जयशंकरको माल्दिभ्स भ्रमण भएको हुनुपर्छ।’
भारतीय पक्षको बुझाईमा अहिले बंगलादेशमा भएको आन्दोलन र प्रदर्शन अनि सरकार गिराउने तथा गठनको काममा पाकिस्तानसहित अमेरिकाको भूमिका रहेको छ। यस्तो अवस्थामा आफ्नो प्रभाव क्षेत्रमा भारत हस्तक्षेपकारी बन्न चहान्छ।
नेपालको परराष्ट्र मन्त्रालयले भने यो नियमित र मिस्रीको पूर्वनिर्धारित भ्रमण रहेका कारण अन्य विषयबारे भने केही पनि खुलाएको छैन। ठूला राजनीतिक घटनाक्रममा भारतीय विदेश सचिवको भूमिका प्रभावकारी रहने गरेका विगत पनि रहेका छन्।
बंगलादेशमा भारतले एक प्रकारले नयाँ खेल सुरु गरिसकेको छ। त्यहाँ अल्पसंख्यकका रुपमा रहेका हिन्दू समुदाय सडकमा आइसकेको छ। त्यसलाई सहयोग पुग्नेगरी आफ्ना छिमेकको समर्थनमा भारतीय पक्ष हस्तक्षेपकारी बन्ने ध्याउन्नमा रहेको कुटनीतिक मामिला जानकारहरू बताउँछन्।
भारत सोही कदमका निम्ति नेपालको समर्थन या मौनताको खाँचो पनि चहान्छ। सरकारले बंगलादेशमा भइरहेको घटनालाई नोटिसमा लिएको जानकारी गराइसकेको छ। उच्च स्रोतले भन्यो,‘अब भारतले चाल्ने कदममा पनि नेपाल मौन बसिदियोस् भन्ने उसको चाहना बिम्बित भएको छ।’