काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी सञ्चालनको मूल्यमान्यता, विधान र पद्धतिको धज्जी उडाइएको आरोप लगाएका छन् ।
उनले बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमा नेतृत्वकै असक्षमताका कारण एकातिर प्रणाली स्थापित हुन नसकेको र अर्कोतिर संगठन पनि बलियो हुन नसकेको उल्लेख छ ।
साथै शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझावसमेत दिएका छन् ।
अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव छ ।
उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने वा प्रचण्डको संरक्षकको भूमिका रही वैचारिक प्राधिकरण र सत्ताको नेतृत्व गर्ने ।’
शर्माले यो प्रस्ताव साउन २५ गतेदेखि सुरु स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका हुन् । सो बैठकमा उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए ।
उनले अहिले भएका २१ जना पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रहेर विभागीय काम, अनुगमन र मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने अथवा अहिलेको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्नुपर्ने प्रस्ताव गरेका छन् ।
हेर्नुहोस् शर्माको लिखित प्रस्ताव