काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । प्रकाश तिमिल्सिनाको शनिबार साँझ निधन भएको हो ।
तिमिल्सिना ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा अचेत अवस्थामा फेला परेका थिए ।
घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले उनलाई पाटन अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनको मुखबाट थोरै रगत निस्किएको अवस्था देखिएको प्रहरीले जनाएको छ। तिमल्सिना श्रीमतीसहित त्यहाँ बस्दै आएका थिए। घटना हुँदा भने श्रीमती विराटनगरमा थिइन्। घटनापछि श्रीमती आइपुगेकी छिन् ।
गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ….’लगायत दर्जनौं गीत लोकप्रिय छन् ।
विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरू तथा दुई दर्जनभन्दा बढी देशका साङ्गीतिक कार्यक्रममा सहभागी भएर उनले आफूलाई नेपाली संगीतमा स्थापित गरेका थिए ।
उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’बाट उदाएका थिए । उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ ।
२०४५ सालको भूकम्पपछि आएको बाढीका कारण उनले दुवै आँखाको ज्योती गुमाएका थिए । उनी सप्तकोशीमा आएको बाढीले सुनसरीको आफ्नो घरसँगै बुवाआमासमेत गुमाएका प्रकाशलेलाई माछा मार्ने क्रममा माझीले उद्दार गरेका थिए ।