काठमाडौं । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत काम गरेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले शुक्रबार मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे । उनका अनुसार मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको हो ।
मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ । सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत छ।
मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा (एमाले), जनमत र लोसपाबाट एक९एक जना गरी पाँच राज्यमन्त्री थप गरेका थिए।
१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए। यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए। यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो।