काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिका–२ अभिराभस्थित सडकमा ना.६ त ५३६७ नम्बरको ट्याक्टरले किचेर सोही गाउँपालिका–४ चाकरचौडा बस्ने २२ वर्षीया ममता कलवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त सडकमा युपि ५३ इडि ८३९१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलमा सवार कलवारलाई उक्त ट्याक्टरको पछाडिको टायरले किचेको थियो । ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजार पिपलबोटस्थित सडकमा डडेल्धुराबाट गौली गाउँतर्फ जाँदै गरेको सु.प.प्र.०४ ००१ च ०१३४ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार गन्यापधुरा गाउँपालिका–३ बस्ने ४५ वर्षीय कृष्ण भुलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँकेको राप्तिसोनारी गाउँपालिका–९ झिझिरी खोलास्थित सडकमा कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ज्ञानकुञ्ज ईङलिस मिडियम बोडिङ स्कुल चप्परगौडीको ना.४ ख ४५७० नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्तिसोनारी गाउँपालिका–९ खैरी बस्ने २६ वर्षीय गोबिन्द वलीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।
सिराहाको लहान नगरपालिका–१२ भोटिया चोकस्थित सडकमा ना.१ क २०१० नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय बद्री विकको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । उक्त सडकमा बा.७२ प ७६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लडिरहेको अवस्थामा बद्री र उनको भाइ ईश्वर विकले मोटरसाइकल चालकलाई उठाउने क्रममा ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक र ईश्वरको बिराट नर्सिङ होम बिराटनगर मोरङमा उपचार भइरहेको छ । साथै दुर्घटनाको विषयलाई लिएर स्थानीयले कुटपिट गर्दा घाइते भएका ट्रक चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बलुवास्थित सडकमा प्रदेश २–०२–००१ च ०४८७ नम्बरको बोलेरो र प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही चक्रघट्टा गाउँपालिका–२ बस्ने ३५ वर्षीय गणेश रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।