काठमाडौं । दरबारमार्गमा रहेको महेन्द्र शालिक–काठमाडौं प्लाजा जोड्ने सडक भासिएपछि काठमाडौं महानगरका मेयर बालेन शाहले झै केही घरहरु टुकुचाको चपेटामा पर्दै जाने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा भासिएको सडको भिडियो राख्दै उनले ‘काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।’ भनेका छन् ।
‘यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् ।’ उनले भनेका छन् ।
‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’ उनले लेखेका छन् ।
दरबारमार्गमा रहेको महेन्द्र शालिक–काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएपछि अहिले सवारीसाधन आवागमन बन्द गरिएको छ।
महानगर प्रहरीका अनुसार टुकुचा खोला माथीको एकतर्फी सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
काठमाडौं महानगरपालिकाकै कार्यालय नजिक भ्वाङ परेको सडक टाल्न सडक विभागको टोली त्यसतर्फ जान लागेको जनाएको छ।