बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सङ्घीय सरकारमा कुन मन्त्रीको कस्तो छ मर्यादाक्रम ?

शुक्रबार, साउन २५ २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोकेका हुन् ।

मर्यादाक्रमअनुसार क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेका छन् ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी छन् । त्यसपछि क्रमशः परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी छन् ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल छन् ।

मर्यादाक्रमअनुसार यातायातमन्त्री दाहालपछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया रहेका छन् ।

त्यसपछि क्रमशः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबाहादुर शाही ठकुरी छन्।