शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित तीन जना पक्राउ

बिहिबार, साउन २४ २०८१

काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–८ लालसिंह चोक बस्ने २४ वर्षीय गोवान सिंह जिसीलाई अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ३ सय ९० मिलिग्राम र नगद १ हजार ९ सय रूपैयाँ सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सोनाश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा १ सय ३५ किलोग्राम सहित शहिदभूमी गाउँपालिका–५ बस्ने २८ वर्षीय भूमिराज राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ३८०८ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा चालक सिट पछाडि ९ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक राईलाई पक्राउ गरेको हो।

जुम्लाको तिला गाउँपालिका–३ घर भई चन्दननाथ नगरपालिका–४ बस्ने २३ वर्षीय दिपेन्द्र सिंहलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।