काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पहिलोपटक तीन दलका तीन शीर्ष नेता एकै ठाउँमा देखिएका छन् ।
शान्ति प्रक्रिया टुँगो लगाउन गठित टिआरसीसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने क्रममा शीर्ष तीन नेता प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक कार्यक्रममा एकैपटक देखिएका हुन् ।
सत्ता गुमाएको २५ दिनपछि बुधवार बिहान माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री कार्यालय पुगेका थिए । असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएर पदमुक्त भएका प्रचण्ड असार ३० पछि सिंहदरबार गएका थिएनन् ।
कार्यदलका संयोजक गृहमन्त्री रमेश लेखकले कार्यदलमा सहमति भएको प्रतिवेदन आज शीर्ष नेताहरुलाई बुझाएका हुन् ।