काठमाडौं । चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ ।
गृहमन्त्री लेखकले पदबहाली गरेपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।
सो कार्यदलले प्रतिवेदन पेस गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा रायसमेत दिएको छ ।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेकाप्रति चिन्ता व्यक्त गरेका छन् ।
गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नाका साथै अरू निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताएका छन् ।
सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताएका छन्। ६२ जना बेपत्ता हुने गरी भएको दुर्घटनाको गम्भीरता बुझी आफूले अध्ययन कार्यदल बनाएको उनको भनाइ थियो ।
त्यस्तै, सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुईवटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदल निकालेको छ ।
प्रतिवेदन पेस गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग/डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए।
दुर्घटनास्थलभन्दा माथिल्लो भेगमा ग्रामीण सडक बनाउँदा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको कार्यदलको निचोड छ ।
प्रतिवेदनको पूर्णपाठ