काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ।
मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो क्रम बुधबारसम्मै चल्ने भन्दै महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भारी वर्षा भइरहेको छ।
काठमाडौंस्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जलसहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स(साना नदीहरूमा बहाव बढ्ने महाशाखाले जनाएको छ ।