बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बीमाको रकम असुल्न आफ्नै पसलमा आगो लगाउने दुई जना पक्राउ

सोमबार, साउन २१ २०८१

पोखरा । कास्की प्रहरीले बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने र त्यसमा सहयोग गर्ने गरी दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिका वडा नं. ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७ निवासी २६ वर्षीय सुजन गहतराज र गहतराजलाई सघाउने ४३ वर्षीय पवन नेपाललाई शनिवार पक्राउ गरेको थियो ।

बीमा रकम दाबी गर्ने उद्देश्यले सुजनले आफ्नै पसलमा साथी पवनसँग मिलेर आगो लगाएको निष्कर्षसहित दुवैलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

प्रारम्भिक बयानमा सञ्चालक सुजनले भनेका थिए, ‘मैले नयाँ इन्भटर जडान गरेको थिएँ, त्यसकै वायरिङबाट सर्ट भई आगो लागेको हो । मैले पसलको बीमा गराएको छैन ।’

अनुसन्धानको क्रममा उनले झुट बोलेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

आगलागीको भोलिपल्टै साउन १७ गते गहतराजले बीमामा क्षति दाबी गरी निवेदन दिएका थिए । घरधनीले करिब ७५ क्षति भएको उल्लेख गरेको र गहतराजले डेढ करोड क्षति भएको दाबी गरी निवेदन दिएको खुलेको छ ।

मुक्तिनाथ सपिङ सेन्टरको सन् २०२४ मार्च १५ मा दुई करोड १० लाखको बीमा गरिएको थियो । पसल नचलेको, स्टक धेरै रहेको भनी नेपाल र गहतराजले मिलेर आगो लगाएको खुलेको छ । नेपालले गत वर्ष आफ्नो कृषि फर्ममा यसरी नै आगो लगाएर ३१ लाख क्षतिपूर्ति लिइसकेको प्रहरी अनुसन्धानमा खुलेको छ ।