बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

आज साउनको तेस्रो सोमबार पशुपतिनाथ लगायतका शिवालयमा भक्तजनको घुइँचो

सोमबार, साउन २१ २०८१

काठमाडौं । आज साउनको तेस्रो सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिर लगायतका शिव मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनहरुको घुइँचो लागेको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।

आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ ।

साउनको सोमबार भगवान शंकरको पूजा गर्नाले सबै प्रकारका रोगहरु हट्छ । यस दिन व्रत वा व्रत गर्दाको फल पनि छिट्टै मिल्छ । साउन सोमबारको शिव पूजा र व्रतले रोग निको हुने, मनोकामना पूरा गर्ने, प्रतिष्ठा र आयु वृद्धि हुने विश्वास गरिन्छ ।

साउन सोमबार गरेको दानले अनेकौं पुण्य प्राप्त हुने मान्यता रहि आएको छ । जसबाट जानीजानी वा नजानी सबै प्रकारका पापहरू पनि समाप्त हुन्छन्।

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।