बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

शुक्रबार, साउन १८ २०८१

काठमाडौं । आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिँदैछन् ।  ४ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिँदै छन् ।

यसअघि नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले राजीनामा दिएका छन् ।

सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।

सङ्घीय सरकार गठनमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएकाे थियाे । एकिकृत समाजवादीबाट मुख्यमन्त्री बनेका सोडारी मुख्यमन्त्री बन्नअघि पनि एमालेले उनको विकल्प खोजेको थियो । सत्ता केन्द्रमा माधव नेपालको बार्गेनिङकै आधारमा उनी मुख्यमन्त्री बन्न सफल भएका थिए । सोडारी र एमाले नेताहरूबीच पार्टी विभाजनका क्रममा तिक्त सम्बन्ध थियो ।

मुख्यमन्त्री सोडारीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने कुरा प्रदेश सभा सचिवालयलाई लेखिएको पत्रमा उल्लेख छ । मुख्यमन्त्रीको आग्रहअनुसार विश्वासको मतको प्रयोजनका लागि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक आह्वान गरेका छन्।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । मुख्यमन्त्री सोडारीका पक्षमा नेकपा (माओवादी केन्द्र) का १०, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रको एक गरेर १५ मत मात्रै देखिन्छ ।

उनको विपक्षमा भने नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नागरिक उन्मुक्तिका सात र राप्रपाको एक गरेर ३७ मत पर्ने देखिन्छ । उनले आज विश्वासको मत नलिई संसद्लाई सम्बोधन गरेर पदबाट राजीनामा गर्ने सम्भावना पनि रहेको छ ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार अब यस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भनिए पनि कांग्रेसले कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन ।