पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालयको बैठक होटल बसेरामा बस्दै
काठमाडौं । आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक बस्न लागेको एमालेले जनाएको छ ।
बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ ।
यसअघि गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गर्दै फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।
यसैबीच प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गरेका छन् ।
सर्वसाधारणको सुझाव अनुसार आफ्नो स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने उनले बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी दिँदै उनले मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको उल्लेख गरेका छन् ।
आजको सचिवालयको बैठक हनुमानथानमा रहेको होटल बसेरामा बस्नेछ ।