काठमाडौं । झण्डै डेढ वर्षअघि पोखरामा दुर्घटनाग्रस्त भएको यती एअरलाइन्सको जहाजको ब्ल्याक बक्समा सुरक्षित पाइलट र कोपाइलट बीचको कुराकानीको अडियो सार्वजनिक भएपछि उड्डयन क्षेत्र तरंगित बनेको छ । नेपाल ग्राउण्ड जिरो नामक सञ्चार माध्यमबाट सार्वजनिक भएको अडियोको सन्दर्भले संसद्देखि सरकार सम्मको ध्यान खिचेको छ ।
२०७९ साल माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको यात्रुवाहक विमान पोखरा विमानस्थलनजिकै दुर्घटना भएको थियो । सो दुर्घटनामा परी चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।
दुर्घटनालगत्तै सरकारले सत्यतथ्य छानविन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।
साे जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो ।
उक्त प्रतिवेदनमा जहाजको दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालिएको थियो । प्रतिवेदनमा चालकको त्रुटि नै दुर्घटनाको ‘मुख्य सम्भावित कारण हुन सक्ने उल्लेख गरिएको छ।
विमान उडाइरहेका पाइलटले त्रुटिपूर्ण रूपमा दुवै ‘कन्डिशन लिभर’ तान्दा इन्जिन बन्द भई दुर्घटना निम्तिएको हुन सक्ने प्रतिवदेनमा उल्लेख गरेको छ ।
सार्वजनिक अडियोका आधारमा पाइलट कमल केसीले कोपाइलट अञ्जु खतिवडालाई सबै कन्ट्रोल जिम्मेवारी दिएर आफूले निर्देशन मात्रै दिएको बुझ्न सकिन्छ ।
अवतरणका लागि प्रयत्न गर्नुभन्दा अगाडि गरिएको संवादका क्रममा कोपाइलट खतिवडाले पाइलट केसीको निर्देशनअनुसार काम गरेकी छन् । अडियोको प्रारम्भमै पाइलट केसीले आफूहरू निकै माथि आइपुगेको उल्लेख गरेका थिए ।
कोपाइलट खतिवडाका लागि क्याप्टेन पास गर्न अन्तिम उडानका रूपमा रहेकाले पाइलट केसीले सम्पूर्ण कमाण्ड खतिवडालाई नै छोडेको हुनसक्छन् ।
यता पाइलट र को पाइलटबीचको कुराकानीमा पनि मौसममा कुनै समस्या नभएको सुन्न सकिन्छ ।
दुर्घटनाकाे कारण जहाज चलाइरहेको को-पाइलटले ‘फ्ल्याप-३०’ भन्दा ‘इन्स्ट्रक्टर पाइलट’ले दुवै कन्डिशन लिभरहरू तानेको हुनसक्ने सम्भावित कारण देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसरी पाइलटले दुवै कन्डिशन लिभरहरू तानेपछि जहाज ‘फेदर पोजिशन’मा गएको र अगाडि बढ्न नसकेको कारण खसेर दुर्घटना भएको हुनसक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ।
उक्त अडियो यतिबेला सामाजिक सञ्जाल लगायत न्यूज पोर्टलहरुमा देख्न तथा सुन्न सकिन्छ । कानुनी हिसाबले यस्तो काम दण्डनीय हुन्छ । यसर्थ, यती एअरलाइन्सको जहाज दुर्घटनाबारे ककपिटमा भएको अडियो रेकर्ड नै बाहिरिनुले सम्बद्ध निकायको कमजोरी रहेको बुझिन्छ ।