२२ सचिवको सरुवा- काे कहाँ ?
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैठकपछि गोरखापत्रसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए
सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
सरकारले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
यसैगरी, बैठकले २२ जना राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृत सचिवको सरुवा गर्ने निर्णय पनि गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको स्रोतले बतायो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन् । उनी हाल जल तथा ऊर्जा आयोगमा थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । अख्तियारमा सचिव रहेका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा भएका छन् ।
डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहेका रामकृष्ण सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएका छन् ।
सञ्चार मन्त्रालयको सचिवमा राधिका अर्यालले जिम्मेवारी पाएकी छिन् उनी यसअघि उपराष्ट्रपति कार्यालयमा थिइन् ।