बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आफ्नै सहयाेगीसहित अर्का एकजनाबाट पूर्वराज्यमन्त्री रायको हत्या भएकाे खुलासा

मंगलबार, साउन १५ २०८१

सर्लाही । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै भान्सेबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विगत १० वर्षदेखि पूर्व राज्यमन्त्री रायको उनैका लागि भान्सा लगायतमा सहयोगीको रुपमा काम गर्दै आएका २५ वर्षीय राम उजैन रायले नै हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए ।

सोमबार  जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन राखेर प्रहरीले अनुसन्धानका क्रममा घटनाबारे हालसम्म भएका प्रगती विवरण सार्वजनिक गरेको छ ।

प्रहरीले चन्द्रनगर गाउँपालिका–१, रतनपुर निवासी ४६ वर्षीय वीरेन्द्र रायलाई समेत नियन्त्रणमा लिएर कार्बाही प्रकृया अगाडि बढाएको छ ।

दुवैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सर्लाही जिल्ला अदालतबाट सोमबार नै १० दिनको म्याद लिएर थप अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका वीरेन्द्र पूर्व राज्यमन्त्री रायको जग्गाका सिमानेदार हुन् । पूर्व राज्यमन्त्री रायले आप्mनो जमिन मिचेर घर बनाएको तथा अन्य थप जग्गाहरु पनि मिचेको भन्ने आधारमा हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको छ । १ महिनाअघि राम उजैनसँग मृतक रायको जमिनको नक्शा मगाएर वीरेन्द्रले फोटो भिडियो समेत खिचेको प्रहरीले पत्ता लगाएको छ । प्रहरीका अनुसार वीरेन्द्रले घटना हुनु केही दिनअघि मात्र पूर्व राज्यमन्त्रीको हत्या गरे नगद २ लाख रुपैंया दिने र व्यवसाय गर्न फर्म समेत बनाईदिने आश्वासन दिएर फकाएपछि आफूले हत्या गरेको राम उजैनले बयानमा भनेका छन् ।

पूर्व राज्यमन्त्रीका अगाडी बोल्न नसक्ने भएकाले उनको हत्या गरेपछि छोराहरु बाहिरै बस्ने भएकाले कोही आफन्त नआउने आँकलन गर्दै मिचिएको भनिएको जग्गाजमिन निकाल्न सकिने आशा सहित हत्या योजना बनेको अभियुक्तद्वयले दिएको बयानबाट खुलेको छ । वीरेन्द्रले उक्साहट र प्रलोभन दिएपछि हत्या भने राम उजैन एक्लैले गरेको हुन् । पूर्व राज्यमन्त्री राय निदाएको मौका छोपेर गत साउन ७ गते मध्यरातमा राम उजैनले फर्सा (दबिया) ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे राती पौने १ बजे ईलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुरमा खबर प्राप्त भएको थियो । राम उजैनले नै राती प्रहरी तथा गाउँलेहरुलाई खबर गरेर घटनाबारे जानकारी दिएका थिए । यसअघि राम उजैनले प्रहरीलाई घटना भएको राती ९ बजेतिर अन्य ३ जना नचिनेका मान्छे आएपछि आफू सुत्न १ तले घरको छतमा गएको र मध्यरातमा उठेर हेर्दा पूर्व राज्यमन्त्री रायको हत्या भएर मृत अवस्थामा देखेको बताएका थिए । साउन ८ गते बिहान धनुषाको ढल्केबरबाट ल्याईएको कुकुरले घटनास्थलभन्दा २५ मिटर पर बाँसको झ्याङबाट रगत तथा कपाल लागेको अवस्थामा फलामको धारिलो हतियार फर्सा पत्ता लगाएको थियो ।

घटना लगतै राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाउँदा निरन्तर बयानमा कुराहरु बाझेपछि पोलिग्राफ मेशिनबाट उनी सहित अन्य केही व्यक्तिहरुको बयान समेत परिक्षण गराईएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । घटनाको तेस्रो दिनपछि मात्र पूर्व राज्य मन्त्री रायको हत्या गर्दा राम उजैनले लगाएको सेतो गञ्जी च्यातेर ३ वटा पोको पारेर बारी छेउको बाटोतर्फ फालिएको अवस्थामा प्रहरीले बरामद् गरेको थियो । त्यसपछि भने प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या राम उजैनले नै गरेको एकीन सहित थप अनुसन्धान अगाडी बढाएको हो ।