लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।
सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।
यस्तै पहिरोका कारण कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ ।
कालिकोटको तिलागुफा नगरपालिका–१ पहिरो खसेका कारण नाग्मामा सडक अवरुद्ध भएको हो ।
जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । सडक खुलाउन भरमग्दुर भइरहेको उनले बताए ।