शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सीएनआई सर्वेक्षण : उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन

बिहिबार, साउन १० २०८१

काठमाण्डौं । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३ दशमलव ५३ प्रतिशतले संकुचन आएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो । गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रको मागमा तीन दशमलव शुन्य चार प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने दुई दशमलव ६४ प्रतिशतले मागमा कमी आएको देखिएको छ।

यस अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको पाईएको छ । सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा तीन दशमलव ८७ प्रतिशतले आय घटेको जनाएका छन् । यो भन्दा अघिल्लो त्रैमासमा पनि एक दशमलव ८७ प्रतिशतले आयमा ह्रास आएको जनाएका थिए । माग र राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरुमध्ये ६५ दशमलव ५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन्।

उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । यस सर्वेक्षणमा सहभागी ५४ दशमलव ३९ प्रतिशत उद्योगहरुले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२ दशमलव ८९ प्रतिशतले वृद्धि भएको पनि जनाइको छ।

सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालु पुँजी कर्जा ४२ दशमलव ७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा दुई दशमलव ७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११ दशमलव २८ रहेको जनाइएको छ।