कांग्रेस-एमालेले टुंग्याए मन्त्री बन्नेका नाम
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण आज बुधबार हुँदैछ ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८.३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो ।
कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।
यसैबीच लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयको नाम टुंग्याएको हो ।
स्रोतका अनुसार कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम लगभग तय भएकाे छ ।
एमालेले भने यसअघि नै चार मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरी मन्त्री बन्दैछन् ।