शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बाहुबली प्रधानमन्त्री

सोमबार, साउन ७ २०८१

काठमाडौं । शक्तिशाली प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता पुनरागमन परिणाममुखि आशयका साथ सुरु भएको छ । दुई तिहाई बहुमतका साथ फेरि उदाएका ओलीका निम्ति यो परिक्षण प्रधानमन्त्री बन्ने सुविधा छैन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताच्युत गर्दै नेपाली कांग्रेस र नेकपा एमालेसहित साना दलको दुई तिहाई समर्थनमा उदाएका ओली राष्ट्रवादका कारण चर्चामा थिए । २०७४ सालको निर्वाचनमा कम्युनिस्ट ध्रुवीकरण गरी बलियो प्रधानमन्त्री बनेका ओली राजनीतिक उतारचढाव र खिचातानीका कारण केही बर्ष सत्ताबाहिर रहे।

तर प्रचण्डलाई सत्तामा लैजाने र ओराल्ने दुवै काम गरेर ओली आफैं कुर्सी सम्हाल्न पुग्दा अब एमाले नेतृत्वको सरकारले परिणाम दिनुपर्ने कतिपय नेता बताउँछन् । ओलीले कम्युनिस्ट ध्रुवीकरण नै चाहेका थिए तर प्रचण्डको छटपटीका कारण कांग्रेसँग हात मिलाउने अवस्था आएको एमाले महासचिव शंकर पोखरेलले बताइसकेका छन् । यो विषयको पुष्टि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कतार पुगेर गरेका थिए।

एक हिसाबले ओली ‘बाहुबली प्रधानमन्त्री’ बनेका छन् । उनीसँग प्रतिनिधि सभाको शक्तिसहित संसदको ठूलो दल नेपाली कांग्रेसको बलियो टेको छ । एमाले आफैं दोस्रो ठूलो दल हो । कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘आलोपालो’ सरकार नेतृत्वको सहमतिका आधारमा नयाँ समीकरण बनेको थियो । यो समीकरणको प्रमुख काम संविधान संशोधन गर्ने रहेको बुझिन्छ।

प्रचण्ड कमजोर प्रतिपक्षको भूमिकामा छन् । उनी सरकारको वाचडगका रुपमा रहे पनि राजनीतिक खटपट नभए आगामी निर्वाचनसम्म वेटिङ प्रधानमन्त्री बन्ने स्थितिमा पनि छैनन् । उनका साथमा जम्मा ६३ सांसदको समर्थन रहेको छ । त्यसमा पनि माओवादी एक्लैको ३२ मात्र हो।