काठमाडौं । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न भएको आशंकामा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
गएराति १ बजे सर्लाहीकै चन्द्रनगर गाउँपालिका- १ रतनपुर घरमा धारिलो हतियार प्रहार गरेर ८१ वर्षीय रायको हत्या भएको थियो।
राय धान रोपाइँको लागि एक सातादेखि चन्द्रनगरस्थित घरमा बस्दै आएको खुलेको छ। उनी दिउँसो मलंगवा नगरपालिका- ४ स्थित घर आएर पुनः चन्द्रनगर फर्किएकाे प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीले मुचुल्का उठाएर शवलाई सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ।
राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए। उनले नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट निर्वाचित भएका थिए। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य समेत थिए ।