शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रास्वपा स्वाहा

सोमबार, साउन ७ २०८१

काठमाडौं । स्थापनको ६ महिनाभित्र नै राम्रो जनमत पाएर संसद भवन र दुई पटक सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई बर्ष पुगेपछि भने स्वाहा हुने अवस्थामा आइपुगेको छ।

यो स्थिति आउनुमा विविध विवाद, आरोप प्रत्यारोप, अनधिकृत सिफारिस, सहकारी ठगी प्रकरणको आक्षेप र संस्थापक महामन्त्रीको विद्रोही आवाज मुख्य कारण बनेका छन्।

पहिलो कारणचाहिँ सभापति रवि लामिछानेको आचरण, शैली र व्यवाहार नै हो। उनी चर्चित सहकारी ठगी प्रकरणमा प्रमाण नष्ट गर्न सरकारमा गएको आरोप नेपाली कांग्रेसले लगाएको थियो । यति मात्र होइन, कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समितिको माग गरी प्रतिनिधि सभाको बैठक समेत अवरोध गरेको थियो । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा छानबिन समिति गठन भयो।

उक्त छानबिन समितिका संयोजक थापाले लामिछाने आवद्ध रहेको भनिएको गोर्खा मिडियामा पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, स्वर्णलक्ष्मी सहकारीबाट साढे ५ करोड रुपैंया अनधिकृत हिसाबले पुगेको पाइएको बताए । छानबिन समितिको यो निचोड र प्रतिवेदनमा आउन सक्ने बुँदाका कारण लामिछानेमाथि अनुसन्धान हुनेमा शंका छैन । उनको संलग्नता रहेको किटानसहित जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पनि उजुरी परेका थिए भने पोखरा महानगरपालिकाले गठन गरेको सहकारी छानबिन समितिको प्रतिवेदनमा पनि लामिछानेको नाम उल्लेख थियो।

‘रविको प्रत्यक्ष वा परोक्ष संलग्नताका विषय आएका छन् । यसबारे प्रमाण संकलन गरी प्रतिवेदनमा उल्लेख गरिनेछ’, संसदीय समिति स्रोतले भन्यो,‘यो वा त्यो नभई स्वतन्त्र रुपमा छानबिन गरी प्रतिवेदन सदन र सरकारलाई बुझाइनेछ।’

दोस्रो कारणचाहिँ उपसभापति डीपी अर्यालले श्रममन्त्री भएर गरेका अनधिकृत कार्टेलिङको विषय छ। विभिन्न देशमा जानका लागि हुने मेडिकललगायतका विषयमा अर्यालले कार्टेलिङ गरी बाहिर राम्रो काम गरेको प्रचार गरी भित्र कमिशनतन्त्र चलाएको आरोप लागेको हो । उनी आफैं पनि म्यानपावर कम्पनीका मालिक रहेका कारण श्रम मन्त्रीको जिम्मा दिनू नै गलत रहेको यसअघि टिप्पणी हुने गरेका थिए।

तेस्रोचाहिँ संस्थापक महामन्त्री मुकुल ढकालले गरेको विद्रोह र सभापतिलगायतलाई लगाएको आरोप रहेको छ । यसबाहेक उनले कतिपय अवस्थामा नेपाललाई भुटानीकरण गर्ने प्रस्ताव समेत उपसभापति स्वर्णिम वाग्लेले गरेको भन्ने खुलासा गरेका थिए।

ढकालले उपसभापति अर्यालले पार्टीको रकम निजी खातामा राखी भ्रष्टाचार गरेको समेत आरोप लगाएका छन् भने पार्टी रवि लामिछानेको क्लबका रुपमा परिणत गरिएको बताए । लामिछाने क्लबले पार्टी कार्यालय कब्जा गरेको आरोप लगाएका ढकालले प्रधानमन्त्री बन्नका लागि लामिछाने जस्तोसुकै सम्झौता गर्न भारतसामु झुक्ने तयारी गर्दा आफूले मध्यस्तता गर्न नरुचाएको दाबी गरेका छन्।

ढकालले भनेका कुरामा सत्यता भए पनि नभए पनि उनको विद्रोहले रास्वपाभित्रको मनोपोली र व्यक्तिवादको भने गम्भिर खुलासा भएको छ । यसैकारण पनि पार्टीमा बहुमत सदस्य सरकारमा जान नहुने मत राख्दा राख्दै सभापति लामिछानेले एकल निर्णय गरी सत्तामा गई गृहमन्त्री बनेका थिए।

चौथो तथा अन्तिमचाहिँ पार्टीका तर्फबाट उपसभामुख बनेकी इन्दिरा रानाले सरकारी लेटरहेडको दुरुपयोग गरी असम्बन्धित व्यक्तिलाई अमेरिका जानका लागि भिसाको सिफारिस गरेको भन्ने छ । यसले रास्वपा थप विवादमा तानियो । उसले यस कामको प्रतिरक्षा गरेको छ तर भित्रभित्रै रास्वपामा हरेक मानिस अनधिकृत काममा सक्रिय रहेको भन्ने सन्देश सतहमा गएको छ।

‘वैकल्पिक भनी आएको पार्टी र तिनका नेताको यो तहको चरित्रले रास्वपा उल्टो बाटो मात्र होइन नामेट हुने स्थितिमा छ’, उच्च स्रोतले भन्यो,‘अहिले आएका विवाद यसैका प्रमाण हुन्।’